जनता टाइम्स

६ असार २०७८, आईतवार २२:३९

नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने राष्ट्रपतिको निर्देशन


काठमाडौँ, असार ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले सवै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्थागर्न निर्देशन दिनुभएको छ । उहाले राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

कार्यक्रममा राष्टपति भण्डारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ महामारीको पछिल्लो अवस्था¸यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेका रणनीति तथा मन्त्रालयसँग सम्बद्ध विविध विषयहरूका बारेमा जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले आज राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सो जानकारी गराउनु भएको हो ।

मन्त्रालयको तर्फबाट विस्तृत जानकारी प्राप्त भएपछि राष्ट्रपति भण्डारीले स्वास्थ्यसम्बन्धी हकलाई नेपालको संविधानले नागरिकको मौलिक अधिकारका रूपमा उल्लेख गरेको बताउदै नागरिकको जीवन रक्षा नै यस बखत सबैको प्राथमिकता भएकोमा विशेष जोड दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो¸ “उमेर समूह र लिङ्गअनुसार नागरिकका स्वास्थ्य समस्या र आवश्यकताहरू फरक हुन्छन्¸ महामारीको समयमा तिनको सम्बोधन गर्नु झनै अपरिहार्य हुन्छ ।” स्वास्थ्य बहुआयामिक विषय भएकाले मन्त्रालयले शिक्षा¸खानेपानी तथा सरसफाई¸वन तथा वातावरण र कृषि लगायत एवं अन्य सम्बद्ध निकायसँग निरन्तर समन्वय गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । यसैगरी कोभिड –१९ महामारीसँग जुझ्न खोप एक मात्र विकल्प भएकाले सबै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने काममा प्राथमिकताका साथ अग्रसर हुन स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गराउनु भयो ।

उक्त अवसरमा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न स्वास्थ्य विमाको प्रावधानलाई सुदृढ गरिनु पर्ने बताउनु हुँदै यस विषयमा सरकारले गम्भीरताका साथ अध्ययन गरिरहेको कुरा बताउनु भयो । यसैगरी उहाँले महामारीका कारण हाल मानसिक रोगीहरूको संख्या समेत उल्लेखनीय रूपले बढेकाले मानसिक रोगीहरूका लागि समेत अस्पतालमा थप बेडको व्यवस्था गरिनु पर्ने आवश्यकता रहेको कुरा जानकारी गराउनु भयो । यसैगरी स्वास्थ्य तथा वातावरण सचिव लक्ष्मण अर्यालले करिब ६० लाख कोरोना विरुद्धको खोप खरिदको प्रकृया सुरू भइसकेको कुरा सो अवसरमा जानकारी दिनुहुँदै काठमाडौँमा ३ सय शैया र प्रदेशहरूमा ५०/५० शैयाको सरुवा रोग अस्पताल निर्माण गरिनु पर्ने आवश्यकता रहेको कुरा बताउनु भयो । उक्त अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले कोभिड –१९ महामारी विरुद्धको खोपको न्यायिक वितरण हुनुपर्ने कुरामा जोड दिनुहुँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको प्रभावकारिताको समेत अध्ययन गरिरहेको जानकारी गराउनु भयो ।