जनता टाइम्स

७ असार २०७८, सोमबार १९:४४

माओवादीमा फर्कन संभव छैन, केपी ओलीको नेतृत्वमै नयाँ ध्रुवीकरण आवश्यक छ : मणि थापा


काठमाडौं, असार ७ । एमालेका नेता मणि थापाले वृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि आफूहरूले केपी ओलीलाई साथ दिएको र निरन्तर दिइरहने बताउनु भएको छ । ओली र प्रचण्डले शुरू गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले ओलीलाई साथ दिएर आफूहरूले राजनीतिक रूपमा कुनै गल्ती नगरेको निश्कर्ष पनि थापाले सुनाउनु भएको छ ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्यौं । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन बनाउन चाहान्छौं, जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरू गर्नुभयो । त्यो प्रक्रियालाई पूरा गर्न चाहान्छौँ’, एउटा मिडियालाई अन्तर्वार्ता दिँदै एमाले स्थायी कमिटी सदस्य थापाले भन्नुभएको छ, ‘त्यो प्रक्रियालाई पूरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौं । हामी उपयोग भएको होइन । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन काम भइरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठीक ठाउँमा छौँ ।’

नेता थापाले एमाले एकतालाई आफूले जायज र न्यायिक ठान्ने पनि बताउनु भयो । ‘पूर्वएमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौं, उहाँहरू आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरु कम्युनिष्ट घटकहरु पनि एक ठाउँमा आउनुपर्छ भन्ने मुल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरु आउँदैमा केही फरक हुँदैन । ठूलो डिवेटबाट फेरि कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौं ।’

उहाँले अव माओवादीमा फर्कने संभावना सकिएको जानकारी पनि दिनुभएको छ । माओवादीमा फर्कनसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा थापाको भनाई छ, ‘अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरण चाहिँ जरुरी छ । त्यो ध्रविकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दाखेरी ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरी नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पुरानोले ध्रुवीकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिष्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’ थापाले एमालेभित्र पूर्वमाओवादीहरूले पूर्वसमूहको रूपमा आफ्नो अस्तित्व नखोजेको पनि प्रष्ट पार्नुभएको छ ।