जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १६:४९

च्याउ खानेको अवस्था गम्भीर


रामपुर, जेठ २९

पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य ७ जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिं ठकुरी, सात वर्षका सुमन सि,ं धनकुमारी सिं, निसासिं ठकुरीको आइसियु र निरुता सिंको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै ४५ वर्षीय पुरन खाम्चाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा क्षेत्र नं–१ का सांसद दलबहादुर रानाले गृहमन्त्रालयबाट निर्णय गराइ बिरामीको निःशुल्क स्वास्थ्य उपचार सेवाको पहल भएको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुग्नुभएका सांसद रानाले मृतकलाई उचित राहत तथा बिरामी सबै स्वास्थ्योपचार सरकारले व्यहोर्ने गरी पहल अगाडि बढेको बताउनुभयो ।

नजिकैको जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएका निस्दी–३ का ११ जना बिरामी मध्ये स्थानीय ९ वर्षका निर्मला ठकुरी र चार वर्षका विष्णुसिं ठकुुरीको ज्यान गएको थियो । नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।