काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले एकपछि अकाृे गर्दै सरकारलाई अप्ठ्यारोमा पार्ने काम गरिरहेको बताउनु भएको छ । उहाँले अदालतले सरकारका काममा एकपछि अर्को अवरोध गरेको टिप्पणी पनि गर्नुभएको छ ।
सर्वोच्च अदालतले आज मन्त्रिपरिषद् पुनर्गठन र विस्तार गर्ने प्रधानमन्त्रीको निर्णय खारेज गरेपछि साँझ बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको आदेश आश्चर्यजनक र उल्टो भएको टिप्पणी गर्नुभयो । ‘अदालतको निर्णयलाई मान्नैपर्छ, नमानी सुख छैन । तर, अदालतले एकपछि अर्को अवरोध गर्ने काम गरिहेको छ,’ परामर्श बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले निर्वतमान मन्त्रीहरूलाई धैर्य गर्न पनि आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा विघटन मुद्दामा हप्ता, दश दिनमा फैसला आउने भन्दै उहाँले त्यसै अनुसार अघि बढ्ने जानकारी दिनुभयो ।
‘हप्ता, दश दिनमा त्यसमा (प्रतिनिधि सभा विघटन मुद्दा) को फैसला आउँछ, त्यसपछि मात्र के गर्ने भन्ने टुंगो लाग्छ । साथीहरु धैर्य गर्नुहोला । अनुकूल, प्रतिकुल के निर्णय आउँछ त्यसैअनुसार अघि बढौंला’, प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले अदालतले संबिधानको उल्टो व्याख्या गरेको धारणा पनि राख्नुभएको थियो । अदालतले उल्टो ब्याख्या गर्यो, मन्त्रिमण्डल विस्तार गर्न नपाउने भन्ने संसारमा कतै पनि छैन,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘चार मन्त्रीले देश हाँक्न सक्दैनन, अदालतले कोभिड नियन्त्रण गर्न भन्छ, आफैं फेरि स्वास्थ्य मन्त्री हटाउँछ । तपाईंहरु मन्त्रिमण्डलमा नरहे पनि हामी साथसाथै हुन्छौं ।’
प्रतिक्रिया दिनुहोस्