बारा, असार ९ । छ दिनअघि भएको युवकको हत्या अभियोगमा प्रहरीले पुजारीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका– ३ फुलवरिया का ३५ वर्षीय पारस महतो धानुक र विश्रामपुर गाउँपालिका–२ बरैनियास्थित हनुमान मन्दिरका पुजारी ७२ वर्षीय दास बाबा भनिने वीरबहादुर यादव छन् ।
विश्रामपुर गाउँपालिका–२ भरवलिया टोलका भादो भन्ने २५ वर्षीय वीरेन्द्र बैठालाई टाउकोमा फलामको चिम्टा र भट्टाले प्रहार गरी उनीहरुले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताउनु भयो । बैठाले मन्दिरबाट गाँजा र पैसा चोरेको भन्दै पुजारीले पारसको सहयोगमा कुटपिट गरी हत्या गरेर मन्दिर नजिकैको सडक पेटीमा फालेको प्रहरीले जनाएको छ ।
‘गाँजा र पैसा चोरेको भन्दै साधुले सुरुमा फलामको चिम्टाले युवकको टाउकोमा हानेर घाइते बनाएपछि मन्दिरमा सुत्दै आएका पारसबाट साधुले सहयोग मागेर बाँसको भट्टाले कुट्दै मारे,’ प्रहरी नायब उपरीक्षक मिश्रले भन्नुभयो । उहाँले गत बिहीबार बिहान भएको घटनाबारे तत्कालै कुकुरको मद्दतले अनुसन्धानको टुंगोमा पुगिएको जानकारी दिनुभयो ।
अभियुक्त दुवैले हत्या आफूहरुले नै हत्या गरेको प्रहरीमा साबिती बयान दिएको प्रहरीले जनाएको छ । बाराको विश्रामपुर–२ बरैनियामा गत बिहीबार युवकको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले मंगलबार सार्वजजिक गरेको छ । उनीहरुमथि थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्