जनता टाइम्स

९ असार २०७८, बुधबार ०८:३४

यी हुन पार्टी छाडेपछि माओवादीको कार्वाहीमा पर्ने स्थानीय तहका जनप्रतिनिधि


काठमाडौं, असार ९ । नेकपा माओवादी केन्द्रले पार्टी छाडेको भन्दै स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई कारबाही गरेको छ । पार्टीबाट निष्कासन गरिएकामा दुई जना नगरपालिका प्रमुख पाँच जना उपप्रमुख एक जना गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, चार जना वडाध्यक्ष तथा एक जना नगरकार्यपालिका सदस्य रहेका छन् ।

माओवादीको कार्वाहीमा रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह र कटरिया नगरपालिका प्रमुख सियाराम कुशवाह कारबाहीमा पर्नुभएको छ । यस्तै कारबाहीमा पर्ने उपप्रमुखमा रौतहट मौलापुरका गौरिशंकर जयसवाल, देवाही गोनाही नगरपालिका रौतहटकी परनिया देवी, फतुवाविजयपुर रौतहटकी कान्तीदेवी, मानवनारायण रौतहटकी सिमल साह र कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा हुनुहुन्छ ।

त्यसैगरी सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साहलाई पनि माओवादीले कारबाही गरेको छ । यस्तै गौरीगंगा नगरपालिका –४, कैलालीकी वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१, कैलालीका वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका –४, कैलालीका वडाध्यक्ष पुरन बिसी र चम्पादेवी गाउँपालिका–७, ओखलढुंगाका वडाध्यक्ष सुरेश कुमार थापा पनि कारबाहीमा पर्नुभएको छ ।

सिरहाको लहान नगरकार्यपालिका सदस्य सतमीलाल दास तातीलाई समेत माओवादीले कारबाही गरेको छ । यसअघि बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टी छोडेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार माओवादीले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको छ । तर आयोगले त्यसबारे निर्णय गरेको थिएन ।

पार्टी छोडेकालाई कारवाही गरेको पत्र माओवादीले निर्वाचन आयोगमा यसअघि नै पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय गरेको थिएन । माओवादीले पार्टी छाडेर एमालेतिर लागेको भन्दै कार्वाही गरेको हो ।