बारा, जेठ २९
५७ लाख ७९ हजार ४९० रुपैंयाँ स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका–७ स्थित दशजगा क्षेत्रबाट स्रोत नखुलेको सो परिमाणको नेपाली रुपैंयाँँसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने बृजकिशोरको खानतलासी गर्दा सो रकम फेला परेको जानकारी दिनुभयो । बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार बृजकिशोरले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्त्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो ।
एसपी भट्टराईका अनुसार अभियुक्त बृजकिशोरलाई पक्राउ गरी बरामद नगद रूपैयाँसहित आवश्यक छानबिन एवं कार्वाहीका लागि सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्