जनता टाइम्स

१० असार २०७८, बिहीबार १६:४१

समाचारलाई गुणस्तरीय, प्रभावकारी र छिटो-छरितो बनाउने प्रतिबद्धता व्यक्त गर्दै राससका महाप्रबन्धक राईको पदबहाली


काठमाडौं, असार १०

राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्नुभएको छ । मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उहाँलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । सूचना तथा सञ्चारप्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि राईले आज पदबहाली गर्नुभएको हो ।

भद्रकालीस्थित रासस कार्यालयमा राईलाई संस्थाका अध्यक्ष श्यामल अधिकारीले बधाई दिनुभयो भने उपस्थित विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले स्वागत गर्नुभयो । सो अवसरमा महाप्रबन्धक राईले राससको समाचार सेवालाई गुणस्तरीय, प्रभावकारी र छिटोछरितो बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै कार्यरत समाचारदाता तथा पत्रकारलाई स्रोत साधनसम्पन्न बनाएर खुशी तुल्याउन नसकेसम्म गुणस्तरमा सुधार नहुने बताउनुभयो ।

धनकुटाको शहीदभूमि गाउँपालिका–३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने ‘न्यूज टाइम्स’साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उहाँले पत्रकारिता गर्नुभएको थियो ।

राईले केन्द्रबाट निस्कने ‘नेपाल समाचारपत्र’ राष्ट्रिय दैनिक हुँदै ‘नागरिक दैनिक’मा काम गरिसक्नुभएको छ । उहाँ अहिले काठमाडौँबाट प्रकाशन हुने ‘देखापढी’ डटकममा सम्पादकका रूपमा काम गरिरहनुभएको छ । आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएको थियो ।