जनता टाइम्स

१० असार २०७८, बिहीबार १६:५१

देउवाले कांग्रेसको बचाउमा माधव–प्रचण्डलाई उतारेपछि..


काठमाडौं, असार १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माफी माग्नुभएको छ । बिगतमा नेपाली कांग्रेसलाई घोर दक्षिणपन्थीको रुपमा ब्याख्या गर्दै आउनुभएका अध्यक्ष प्रचण्डले आज आयोजित कार्यक्रममा देउवालाई बाँयाँतिर राखेर आफ्नो भनाई सच्याउँदै देउवासँग माफी माग्नुभएको हो ।

‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । कांग्रेस दक्षिणपन्थी होइन,’ बिगतको आफ्नो भनाईको खण्डन गर्दै प्रचण्डले सम्पादकहरुसंगको अन्तरक्रियामा भन्नुभयो । प्रचण्डले राजनीतिक र सैद्धान्तिक धरातलमा कांग्रेसको नेतृत्वमा आफूहरुको गठबन्धन उभिएको र कांग्रेस दक्षिणपन्थी शक्ति नरहेको बताउनु भयो ।

उहाँले कांग्रेस नेतृत्वको गठबन्धनसँग लामो समयसम्म सहकार्य गर्ने घोषणा पनि गर्नुभयो ।
संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिन गठबन्धनमा रहेका सबै दलबीच न्यूनतम सहमति बनेको भन्दै अध्यक्ष प्रचण्डले सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको बताउनु भयो । ‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, प्रचण्डले भन्नुभयो ।

गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको भन्दै उहाँले विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा समस्याका रुपमा ब्याख्या गर्नुभयो । ‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन । माधवजी र उपेन्द्रजीहरुलाई परेको अप्ठ्याराहरुमा हामीसंगै छौं, त्यसलाई गठबन्धनले साझा रुपमा लिन्छ’, प्रचण्डले भन्नुभयो ।

सम्पादकहरुसँगको भेटमा एमालेबाट निश्काशित नेता माधवकुमार नेपालले पनि कांग्रेसकै बचाउ गर्नुभएको थियो । उहाँले एमाले अध्यक्ष तथा प्रधानमन्त्रीको निन्दा र कांग्रेसको बचाउ गर्नुभएको हो ।

पत्रकारसामू माधव र प्रचण्डले कांग्रेसको बचाउ र ओलीको बिरोधमा सवै समय खर्च गरेपछि उपस्थित सम्पादहरु भने आफै मुसुमुसु हाँसेर उडाई दिएका थिए । दुवै नेताको कुरा सुनेपछि सम्पादकहरु बोलीको ठेगान नभएको मान्दै भन्दै एक अर्कामा कानेखुसी गरिरहेका थिए ।