जनता टाइम्स

११ असार २०७८, शुक्रबार ०७:२५

मेक इन नेपाल अभियानमा परिसंघ र सरकारबीच समझदारी


काठमाडौँ, ११ असार । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन गर्नका लागि सरकारसँग समझदारी गरेको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा सरकारले आफ्नो साझेदारी प्रस्तुत गरेको हो ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको एक कार्यक्रममा सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशलाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न यो अभियानसँगको साझेदारी कोसेढुंगा भएको उल्लेख गर्नुभयो । कार्यक्रममा परिसंघका अध्यक्ष सतीशकुमार मोरले स्वदेशी वस्तुको उत्पादनका लागि यो अभियान महत्त्वपूर्ण रहेको बताउनुभयो। त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समझदारीपछि अभियानका लक्ष्य हासिल गर्न सहयोग पुग्ने दावी गर्नुभयो । नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि तथा प्रवर्द्धन गरी निर्यात गर्नका लागि यो अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गर्नुभएको थियो ।