जनता टाइम्स

११ असार २०७८, शुक्रबार १०:१५

सूर्य थापाको नजरमा यस्तो छ प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा प्यारो हुनुको कारण


काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु स्वभाविक भएको बताउनुभएको छ ।

शुक्रबार ट्विट गर्दै थापाले पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष ‘प्रचण्ड’ र माओवादी केन्द्र पार्टी नै वैधानिक नरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नुभएको छ ‘पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन् । निर्वाचन आयोग, प्रचण्ड र माकेको अविलम्ब ध्यानाकर्षण हुनुपर्छ । २०७५ जेठ ३ यताको ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि ६ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् ।

अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त ?’ पार्टी वैधानिक हुन अनिवार्य: कानून परिपालना गरेको हुनैपर्ने भन्दै थापाले गैर–कानुनी रूपमा चलेकाहरुले अरूलाई प्रश्न उठाउन नमिल्ने बताउनुभयो । ‘कानुनीराजको बर्खिलापका कार्य दण्डनीय छन् । प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ । वैधानिक हैसियतविना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन्’, थापाले भन्नुभएको छ । विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा बिहीबार प्रचण्डले राष्ट्रपतिभन्दा राजाकै बढी शान, मान र इज्जत रहेको टिप्पणी गर्नुभएको थियो ।