जनता टाइम्स

११ असार २०७८, शुक्रबार १३:०९

बिपद व्यवस्थापन तथा राहतको कामलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, असार ११ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक बिपदको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जिल्लामा हालैको बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित आज प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमति प्रदेश कमिटीको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिनुभएको हो ।

सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उहाँले भन्नुभयो, ‘यस कुरामा कसैले राजनीति गर्नु हुन्न, मानवीय हिसाबमै जानुपर्छ ।’ पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताउनु भयो । साथै उहाँले बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्नतार जालीको व्यवस्थागर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्नसमेत निर्देशन दिनुभयो ।

यस्ता विपत्तिमा स्थानीयआवश्यकताअनुसारको राहतउपलब्ध गराइनु पर्ने बताउँदै प्रधानमन्त्रीले ओलीले भन्नुभयो, ‘त्यस्ता ठाउँमा दाताहरु पुगेका छन्, उनीहरलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाँडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नु पर्छ ।’ प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटिका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनःनिर्माणको लागि लागतअनुमान र बजेट व्यवस्था गर्न माग गर्नुभयो ।

यसैगरी विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थाई बासस्थान निर्माण गर्ने, नदी किनाराका बजार संरक्षण र पुनःव्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

यसैगरी भत्केका मोटर पुलमा अस्थाई (बेलीव्रिज वाकजवे निर्माण गरी) मोटर बाटो सञ्चालनमा ल्याउनर मानिस आवत जावतको लागि तत्कालै झोलुङ्गे पुल निर्माण गर्न माग गरिएको छ । ज्ञापनपत्रमा ध्वस्त भएको सञ्चार र विद्युत प्रशारणको लाईनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गर्न पनि माग गरिएको छ ।