जनता टाइम्स

११ असार २०७८, शुक्रबार १७:४५

पदबहालीमै प्रहरी-प्रशासनलाई गृहमन्त्री पौडेलको कठोर निर्देशन


काठमाडौं, असार ११ । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरूपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको प्रष्ट पार्नुभएको छ ।

गृहमन्त्रीको रुपमा आज कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको प्रष्ट पार्नुभएको हो । मन्त्री पौडेलले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने प्रष्ट पार्नुभयो । संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै मन्त्री पौडेलले नतिजामुखि काम आफूले खोजेको जानकारी दिनुभयो ।

‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ । हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यस हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरूले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन’, मन्त्री पौडेलले भन्नुभयो, ‘गृह सचिवले हस्तक्षेप गर्दैनन। संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र स्थापित प्रणालीहरु छन, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारी पूरा गर्न यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु।’

मन्त्री पौडेलले सरूवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफूकहाँ नआउने बातावरण निर्माण गर्न पनि निर्देशन दिनुभयो । आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उहाँले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा आइजीपी स्वतन्त्र भएर काम गर्न सक्ने बताउनु भयो ।

‘म कहाँ एउटा पनि पुलिस नआओस । अन्याय भयो भनेर साच्ची नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस । प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही÷जिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौं। त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ,’ मन्त्री पौडेलको भनाई थियो ।

उहाँले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने भन्दै अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न निर्देशन दिनुभयो । ‘राजनीतिक परिस्थितिको प्रभावचाँहि गृह प्रशासनमा पर्नु हुँदैन । सुरक्षा निकायमा पर्नु हुँदैन। राजनीतिक परिस्थिति अलग चिज हो। त्यो आफ्नो ढंगले चल्दै गर्छ। त्यसबाट यहाँहरू प्रभाव नहुनुहोला। अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन। शान्ति सुरक्षा, जिउधनको रक्षामा रम्भिरताका साथ ध्यान दिनुस,’ गृहमन्त्री पौडेलले भन्नुभयो ।