जनता टाइम्स

११ असार २०७८, शुक्रबार २१:०८

सर्वोच्चबाट पुनर्बहाली भएका तीन प्रदेश सांसद फेरि निलम्बित



सुर्खेत, असार ११ । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिने कर्णाली प्रदेशका चार सांसदमध्ये तीनजना फेरि निलम्बनमा पर्नुभएको छ । उहाँहरुलाई नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालय निलम्बित गरेको हो ।सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश वैठकको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भुमिमन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जनाएको छ ।‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’ प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन । ज्वाला असार १ गते दलको बैठकमा सहभागी हुनुभएको थियो भने सोही दिन प्रदेश सभामा समेत बिपक्षमा बस्नुभएको थियो ।