जनता टाइम्स

१२ असार २०७८, शनिबार ११:२६

क्रिस्टियानो रोनाल्डोले भेट्टाए दाइको कीर्तिमान


काठमाडौं, असार १२ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने इरानका अली दाइको कीर्तिमानलाई बराबरी गर्नुभएको छ । युरोपेली च्याम्पियनसिपअन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाइको १ सय ९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गर्नुभएको हो ।

रोनाल्डोले फ्रान्सविरुद्ध दुवै गोल पेनाल्टीमा गर्नुभएको थियो । यसै युरोमा ५ गोल गर्दै दाइको कीर्तिमानलाई भेट्टाउन रोनाल्डो सफल हुनुभएको हो । उहाँले १ सय ७८ क्यापमा दाइको कीर्तिमान भेट्टाउनु भएको हो । अली दाइले १९९३ देखि २००६ को अवधिमा १ सय ४९ खेलमा १ सय ९ गोल गर्दै यो कीर्तिमान कायम गर्नुभएको थियो । यस्तै रोनाल्डोले विश्वकप र युरो दुवैमा गरेमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउनु भएको छ ।

विश्वकप र युरोमा गरी रोनाल्डोको नाममा २१ गोल पुगेको छ । रोनाल्डोले युरोमा १४ तथा विश्वकपमा ७ गोल गर्नुभएको छ । मिरोस्लाभले विश्वकपमा १६ तथा युरोमा ३ गोल गर्नुभएको छ । अब रोनाल्डोले दाइले राखेको कीर्तिमानलाई यसै युरोमा भंग गर्दै आफ्नो नाममा लेखाउने सम्भावना छ । फ्रान्ससँगको खेलमा २–२ गोलको बराबरीपछि पोर्चुगल ग्रुफ अफ डेथ मानिएको समूहबाट उत्कृष्ट तेस्रो टोलीका रूपमा प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोनाल्डोले हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गर्नुभएको थियो । रोनाल्डो युरो कपमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा हुनुहुन्छ । उहाँले ५ गोल गर्नुभएको छ ।