जनता टाइम्स

१२ असार २०७८, शनिबार १३:२८

पाँच ओटा प्रदेशमा भारी वर्षा, विशेष सावधानी अपनाउन आग्रह


काठमाडौं, असार १२ । मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न भागमा आज बिहानैदेखि भारी बर्षा भइरहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ । मुख्यगरी प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने जानकारी दिनुभयो । ‘ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनु पर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ,’ मानन्धरले भन्नुभयो । यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण जमीन गलिसकेको र विगतमा बाढी पहिरो गएको तथा भूकम्पले क्षति पुर्याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या ननिम्तिए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्न सक्ने हुँदा सावधानी अपनाउनु प्राधिकरणको सुझाव छ । अहिलेको समयमा असारे काम गर्न भने निकै सहयोग पुग्ने जनाइएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाइएको छ ।