काठमाडौं, असार १३ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज(आइतबार) बिहान देशभरको मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।
यस्तै असार १४ गते (सोमबार) दिउँसो देशभर मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेश एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती‚ गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
असार १५ गते मंगलबार दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर मौसम बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना छ।महाशाखाले भीषण वर्षा हुने स्थानमा पहिरो जोखिम रहेको र नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।













प्रतिक्रिया दिनुहोस्