जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार ०९:२७

चक्रवात ‘वायु’ को प्रभाव नेपालमा पनि पर्नसक्ने


काठमाडौं ।

भारतको गुजरातमा चक्रवात ‘वायु’ को प्रभाव देखिन थालेको छ । गुजरातको पोरबन्दर र जामनगरमा वर्षा र तीवै गतिको हावाहुरी चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वायुको सम्भावित असरलाई लिएर सतर्कता अपनाइएको बीबीसीले उल्लेख गरेको छ । भारतीय मौसम विभागले यो चक्रवातलाई गम्भीर श्रेणीको भएको बताएको छ ।

वायु नामक चक्रवात १६० किमी प्रतिघण्टाको दरले आउने पूर्वानुमान गरिएको छ । गुजरातमा सो वायु ठोकिने भएकाले त्यहाका करिव ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतका गृहमन्त्री अमित शाहले ट्विट गर्दै चक्रवातबाट जोगाउन गुजरातबाट ३ लाख र दीवबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् । यो चक्रवात अरब सागरबाट उठेर आउने भारतको मौसम विभागले जनाएको छ ।

भारतको गुजरात आसपासमा भित्रिएको चक्रवातले नेपालमा पनि असर गर्नसक्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु र भारतमा आउन लागेको चक्रवातको आशिंक प्रभाव पर्ने तथा मध्य र पूर्वमा विहार, पश्चिम बंगाल, बंगलादेश आसपास बनेको न्यूनचापीय क्षेत्रको असरले बिहीबार मध्यान्हपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

‘वायु’ चक्रवातको असर आंशिक रुपमा पर्ने सम्भावना देखिएको छ ।’ मौसमविद् नगरकोटीले भन्नुभयो ‘वायु चक्रवात नै नेपालमा भित्रिन्छ भन्ने होइन तर यसको असरले दिउँसो पानी पर्न सक्छ ।’ ‘पश्चिम बंगाल र बंगलादेश आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि देखिएको छ ।’ नगरकोटीले भन्नुभयो, ‘शुक्रबार तराइमा हावाहुरी र पश्चिमी उच्च हिमाली भेगमा हिमपात पनि हुने संभावना पनि रहेको छ ।’