जनता टाइम्स

१४ असार २०७८, सोमबार १५:२३

प्रधानमन्त्री ओलीले बालुवाटारमा निलोवर्णको स्याल कथा सुनाएपछि…


काठमाडौं, १४ असार । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिनुभएको छ ।

मदन भण्डारीको जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्डलाई दन्त्यकथाको ‘निलोवर्ण स्याल’ र ‘छेपारो’ सँग तुलना गर्नुभएको छ । उहाँले भने, ‘निलो वर्णको रङ भरिएको ठाउँमा स्याल पानी खान गयो। झुक्किएर भित्र खसेछ, स्याल पूरै निलो भयो। त्यसपछि स्याल जंगल गयो। ऊ त अर्कै रङको छ। उसले जंगलमा पुगेपछि म विशेष प्रकारको प्राणी हुँ भन्न थाल्यो। निल वर्णको म मात्रै यस्तो जीव हुँ भन्न थाल्यो। म जंगलको राजा हुँ भन्यो ।

जनावरले पत्याउँदै गए। सबैले होला भन्ठाने। अलिकति साँझ परेपछि अलिक पर स्याल कराउन थाले। त्यसपछि त्यो पनि ठाडो घाँटी लगाएर कराउन थाल्यो। स्यालको धर्म के हुन्छ भने अरु कराएपछि कराउनै पर्ने । स्याल भन्ने उसको कराउने धर्मबाट थाहा पाएपछि बाघले झप्पु दिएर समात्यो।’ ओलीले प्रचण्ड पनि त्यस्तै रहेको आरोप लगाउनुभयो। प्रचण्डले रङ फेर्दै हिँडेको नेपाली जनताले बिर्सिएको देखेर छक्क लाग्ने गरेको उहाँले बताउनुभयो । केही दिनअघि अहिलेका राष्ट्रपतिभन्दा राजामहाराजाको शान रहेको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले यस्तो भन्नुभएको हो । प्रचण्डले कहिले गणतन्त्र आफुले ल्याएको भनेर प्रचार गर्ने र कहिले राष्ट्रपतिभन्दा राजा राम्रो भन्दै रंग फेरेर हिड्ने गरेको बताउनुभयो ।