काठमाडौं, असार १४
कांग्रेस नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आफ्नो निवास मण्डिखाटार बोलाएर ‘लञ्च मिटिङ’ गर्नुभएको छ । बहालवाला महामन्त्री समेत रहनुभको बीपी पुत्र डा. शशांक कोइरालाले गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिसँग लञ्च मिटिङ गरेको केही दिनमै गिरिजापुत्री सुजाताले लञ्च मिटिङ गर्नुभएको हो । सुजताले अहिले पनि गुट बनाएर राजनीति गरेको भन्दै अबको चुनावमा झनै समस्या हुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कांग्रेसलाई अबको राष्ट्रिय चुनावमा सबैभन्दा ठूलो पार्टी बनाउन सकिएन भने त्यसले जनताको निराशा नफर्कने बाटोमा पुर्याउन सक्छ, किनभने अहिले नै जनतामा चरम निराशा छाइसकेको छ । त्यसैले यस्तो बेलामा नेताहरुले गुट बनाएर मात्र हुँदैन, पार्टीको चुनाव जितेर मात्र पनि हुँदैन, आम जनतामा आशाको सञ्चार गर्न सक्नुपर्छ ।’
उहाँले आफूले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग त्यही विषयमा कुराकानी गरेको बताउनुभयो । पार्टीलाई आगामी महाधिवेशनबाट बलियो पार्टी बनाउन कसरी सकिन्छ भन्ने छलफलकै लागि नेताद्वयलाई बोलाएर लञ्च मिटिङ गरेको नेतृ सुजताले सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘मेरो उद्देश्य कुनै नेतासँग प्रतिस्पर्धा गर्ने होइन, मेरो उद्देश्य कांग्रेस बलियो बनाउनुपर्छ भन्ने हो, त्यो कसरी पूरा हुन्छ भनेर आज सिनियर नेताहरुसँग छलफल गरेकी छु, अब अन्य नेतासँगै जिल्लातहका नेता कार्यकर्ता साथीहरुसँग पनि छलफल गर्दै जानेछु ।’













प्रतिक्रिया दिनुहोस्