जनता टाइम्स

१५ असार २०७८, मंगलवार २१:०२

नक्कली सवारी दर्ता किताब बनाएर कारोबार गर्ने गिरोह पक्राउ : यस्तो नालीवेली


काठमाडौं, असार १५ ।  महानगरीय प्रहरी अपराध महाशाखाले सवारी साधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छली गरी चोरी गरेर ल्याएको सवारी साधनका नक्कली सवारी दर्ता किताबसमेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।

ग ३ च १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरू भन्सार छली काठमाडौं ल्याइ ती सवारी साधनको नक्कली सवारी दर्ता किताबलगायतका कागजात तयार गरी कारोबार गर्ने लमजुङको सुन्दरबजार नगरपालिका ३ घर भइ काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यस्तै प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका ८ का अरुण खड्का र चाँगुनारायण २ का मधु सिलवाल पनि रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुबेर खापुङले बताउनुभयो ।

त्यस्तै गाडीमा फेला परेको कमल बाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङको बयरबन घर भइ काठमाडौंको शान्तिनगरमा बस्ने रेवती रमन निरौलालाई पनि प्रहरीले पक्राउ गरको छ । निरौलाको कोठाबाट विभिन्न व्यक्तिको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरू, होलो ग्राम, लाइसेन्स, राहदानी लगायत सरकारी लिखितहरू समेत बरामद भएको महाशाखाका प्रमुख खापुङले बताउनुभयो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।