जनता टाइम्स

१६ असार २०७८, बुधबार १३:५२

एमाले दशौं महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु (फोटोफिचर)


काठमाडौं, असार १६ ।    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरुभएको बैठकमा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरुको समेत सहभागिता छ । आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गर्ने बताइएको छ ।

महाधिवेशन आयोजक कमिटिका सदस्य तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार आजको बैठकमा पार्टी एकताको प्रयास तथा भएका प्रगतिको समिक्षात्मक छलफल समेत हुने बताइएको छ । केन्द्रीय कमिटी कति सदस्यीय बनाउने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताउनुभएको छ ।

नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई समेत केन्द्रीय कमिटी बैठकका लागि निमन्त्रणा गर्ने तयारी गरेको एमालेले आउने शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ । महाधिवेशन आयोजक कमिटीलाई भङ्ग हुने भएपछि माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलसहित २३ जना नेताहरुलाई केन्द्रीय कमिटीमा समेटिने निर्णय पनि आजको बैठकले गर्ने भएको छ । नेता नेपाल पक्षका नेताहरुले २०७५ जेठ २ गते अघिको पार्टी संरचनामा गए आफूहरु बैठकमा सहभागी हुनेबारेमा सोच्न सक्ने संकेत गरेपछि हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकले जेठ २ अघिको संरचनामा बैठक राख्ने निर्णय गरेको थियो ।