विराटनगर, असार १७
मोरङको कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत दुई वा सो भन्दा बढी छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई जनही पाँच हजार पुरस्कार दिने निर्णय गरेको हो ।
गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकीका अनुसार पालिकाले दुई वा सो भन्दा बढी छोरी भइ स्थायी बन्ध्याकरण गर्ने दम्पतीको सम्मान स्वरुप छोरीहरुका नाममा जनही पाँच हजार दिने निर्णय भएको बताउनुभयो । पालिकाले गाउँपालिकाभित्र दाइजो नलिने दम्पतीलाई स्वघोषणा गरेर वडा कार्यालयको सिफारिसमा पुरस्कृत गर्ने समेत जनाएको छ ।
आगामी आर्थिक वर्षका लागि ७६ करोड ९६ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको बजेट ल्याएको पालिकाले दाइजो प्रथा र छोरी माथिको विभेद अन्त्यका लागि पुरस्कृत गर्ने योजना ल्याएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लले बताउनुभयो । त्यस्तै बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, उर्जा, पर्यटन, व्यापार र पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ भने मुख्य चोकमा निःशुल्क वाईफाई जडानको योजना पनि समावेश छ ।













प्रतिक्रिया दिनुहोस्