जनता टाइम्स

१७ असार २०७८, बिहिबार २०:३१

दोलखाको गौरीशंकर र विगु गाउँपालिकामा १८ वर्ष माथिकालाई भेरोसिल खोप लगाइने


दोलखा, असार १७ । दोलखाको गौरीशंकर र बिगू गाउँपालिकाका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दोलखाले आज सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।

कार्यालयले स्थानीयबासीलाई पहिलो मात्रा खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभाग काठमाडौंबाट छिमेकी मित्रराष्ट्र चीनसँग सिमाना जोडिएका दोलखा जिल्लाका विगु र गौरीशंकर गाउँपालिकाका १८ वर्ष माथिका स्थायी बासिन्दालाई खोप लगाउने गरी कोभिड खोपको पहिलो मात्राको लागि ७ हजार २ सय भायल खोप प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

सो सम्बन्धमा बिहीबार सम्बन्धित पालिका प्रमुख, उपप्रमुख सहित जिल्ला खोप समन्वय एवं अनुगमन समितीको बैठक बसी खोपको उपलब्धता र लक्षित जनसङख्यालाई आधार मानी गौरीशंकर गाउँपालिकामा ४० वर्ष माथिका र विगु गाउँपालिकामा ४५ वर्ष माथिका सबै स्थायी बासिन्दालाई असार २५ गतेदेखि २७ गतेसम्म सम्बन्धित पालिकाका स्वास्थ्य संस्था एवं खोपकेन्द्र स्तरवाट कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाउने निर्णय भएको कार्यालयले जनाएको छ ।

सो मितिमा सम्बन्धित पालिकाका सबै स्वास्थ्य संस्था र तोकिएका खोप केन्द्रमा नागरिकता, मतदाता परिचय पत्र तथा स्थायी ठेगाना खुल्ने सरकारी कागजात वा सम्बन्धित वडाको सिफारिस लिएर खोप लगाउन पनि कार्यालयले आग्रह गरेको छ ।

तोकिएका उमेर समुहलाई खोप लगाइ सकेपछि खोप वचत रहेमा सम्बन्धित पालिकाको निर्णयमा तोकिएको समूह भन्दा ठिक तल्लो उमेर समूहलाई समेत खोप दिने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभएको छ ।