जनता टाइम्स

१८ असार २०७८, शुक्रबार १३:५४

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन


काठमाडौं, असार १८ । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिइएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय कमिटीको १३औं बैठकले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

‘बैठकले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएको छ,’ एमाले नेता महेश बस्नेतले जनताटाइम्ससँग भन्नुभयो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज एमालेको एकताअघिको कमिटी बैठक बसेको हो । बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी हुनुभए पनि देउवालाई हस्ताक्षर बेच्नुभएका बरिष्ठ नेता माधवकुमार नेपाल समुह भने सहभागी भएन ।

माधव समुह सहभागी नभए पनि बैठकले देउवालाई बुझाएको हस्ताक्षर फिर्ता लिन दुई दिनको समयसीमा तोकेको छ । एमाले नेता माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउन आफ्ना समुहका २३ जना सांसदको हस्ताक्षर बुझाउनु भएको छ । सो हस्ताक्षर फिर्ता लिन केन्द्रीय कमिटी बैठकले निर्देशन दिएको हो ।