जनता टाइम्स

१८ असार २०७८, शुक्रबार १६:३२

कमलजंग राई दनुवारले पनि छाड्नुभयो माधवको साथ


काठमाडौं, असार १८

नेकपा एमालेको माधव नेपाल पक्षले बहिष्कार गरेको आजको केन्द्रीय कमिटी बैठकमा सो समूहका दुई केन्द्रीय सदस्य सहभागी हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‍मा १२ दिन मन्त्री बन्नुभएको गणेश पहाडीसहित उहाँकै गृहजिल्ला सिन्धुलीका तत्कालीन नेकपा एमालेका इन्चार्ज कमलजंग राई दनुवार पनि आजबाट ओली पक्षमा खुल्नुभएको हो ।

बालुवाटारमा भएको बैठकमा पहाडी र राई पहिलोपटक सहभागी हुनुभएको हो । यसअघि नवौं राष्ट्रिय महाधिवेशनमा दुवैजना माधव नेपाल प्यानलबाट निर्वाचित हुनुभएको हो । नेकपा विभाजनपछि पनि दुवै नेता प्रचण्ड–माधव पक्षमा उभिँदै आउनुभएको थियो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नउभिनुभएको पहाडी पछिल्लोपटक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको थियो ।

पहाडी र दनुवार एमाले ब्युँतिएपछिको बैठकमा पहिलोपटक सहभागी हुनुभएको हो । यसअघि तत्कालीन नेकपा विभाजनका बेला पूर्वमाओवादी पृष्ठभूमिका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार र पूर्व सांसद निरु दर्लामी कुँवर ओली पक्षमै लाग्दै आउनुभएको थियो । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमसहित उहाँनिकट नेता हरि पराजुली पनि पहिलोपटक सहभागी हुनुभएको थियो ।