जनता टाइम्स

१८ असार २०७८, शुक्रबार १९:१०

समातिए क्यानडा पठाउने भन्दै डेढ करोड बढी ठगी गर्ने अभियुक्त


काठमाडौं, असार १८ । क्यानडा पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ठगी अभियोगमा काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका–४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

प्रजिनले सर्लाही लालबन्दी नगरपालिका–७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई १७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन हुँदै फरार भएको भन्ने खबर प्राप्त भएपछि अनुसन्धान गर्दै जानेक्रममा उनलाई काभ्रे बनेपा नगरपालिका–२ दाहालगाउँबाट फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रजिनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको बुझिन आएको जानकारी पनि प्रहरीले दिएको छ । प्रजिनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।