काठमाडौं, असार २० । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभाका १४६ जना सांसद सर्वोच्च अदालतमा आएको प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ ? भन्दैसभामुख अग्नि सापकोटाका वकिलसँग प्रश्न गर्नुभएको छ । आजको संवैधानिक इजलासमा सभामुख सापकोटाका तर्फबाट बहस गर्नुभएका अधिवक्ता मेघराज पोखरेललाई प्रधानन्यायाधीशले यस्तो प्रश्न गर्नुभएको हो ।
पोखरेलले सांसद संख्या उल्ल्ेख गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गरेपछि प्रधानन्यायाधीश जवराले अदालतले नै बहुमत सांसद अदालत आएको भनेर प्रमाणीकरण गर्दा राम्रो संबैधानिक हुन्छ र ? भन्ने प्रश्न गर्नुभएको हो । प्रधानन्यायाधीशको यो प्रश्नको जवाफ अधिबक्ता पोखरेलले सिधै दिन सक्नुभएन । उहाँले घुमाएर जवाफ दिँदै सर्वोच्चले संविधानको धारा ७६ (५) को आधार देखाइदिएर व्याख्या गर्दा पुग्ने बताउनु भयो ।
यत्तिमा पनि प्रधानन्यायाधीश जबराको चित्त बुझेन । उहाँले फेरि प्रश्न गर्नुभयो, ‘धारा ७६ (५) अनुसार सरकार बन्न सकेन भनेर ७६ (७) मा पुगिसक्यो नि ?’ जवाफमा पोखरेलले धारा ७६ (५) को व्याख्या गर्दा विकल्प फेला पर्ने भन्दै पन्छिनुभयो अधिबक्ता पोखरेल ।
पोखरेलले गोलमटोल जवाफ दिएपछि न्यायाधीश डा. आनन्दमोहन भट्टराईले प्रश्न गर्नुभयो, ‘सरकार पक्षबाट धारा ७६ (५) मा उपधारा २ आकर्षित हुन्छ भनेर कुरा आइरहेको छ नि ?’ न्यायाधीश भट्टराईको प्रश्नसँगै प्रधानन्यायाधीश जवराले फेरि पुरक प्रश्न गर्नुभयो, ‘उपधारा २ बमोजिमको सदस्य भनेको के हो ? ७६ (५) का २ किन जोडियो ?’
यो प्रश्नको जवाफमा पोखरेलले सांसद स्वतन्त्र हुन पाउनु पर्ने जिकिर गर्नुभयो । पोखरेलले भन्नुभयो, ‘धारा ७६ (५) सांसदहरू स्वतन्त्र हुने धारा हो ।’ उहाँको यो जवाफमा पनि इजलाशको चित्त बुझेन । तर समय सकिसकेको कारण अधिबक्ता पोखरेलले आफ्नो बहश टुंग्याउनु भयो ।













प्रतिक्रिया दिनुहोस्