जनता टाइम्स

२० असार २०७८, आईतवार १६:३०

माधव आफैले खोले एमालेमा नबस्ने कसम खाइसकेको तथ्य


काठमाडौं, असार २० । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले बिपक्षी गठबन्धनमा बिलिन भइसकेको कारण एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलन संभव नरहेको घोषणा गर्नुभएको छ । आफ्नै निवासमा आइपुगेका एमाले एकता कार्यदलका सदस्यहरुसँग नेपालले यस्तो निर्णय सुनाउनु भएको हो ।

पार्टी एकता भन्दा ठीक बिपरित चलेपछि नेपाललाई मनाउन कार्यदलमा रहनुभएका दुवै पक्षका नेताहरु आज नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । तर त्यहाँ नेपालले आफ्नो रोजाई एमाले भन्दा नयाँ दल र देउवा–प्रचण्ड नै रहेको भित्री रहष्य खोल्नुभयो । बार्तामा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारी अनुसार छलफलको क्रममा माधवको कुरा सुनेर सवै चकित परेका थिए । ‘माधव कमरेड त एमाले सकाएरै छाडने अनि देउवा–प्रचण्डसँग कहिल्यै छुट्टिन नसक्ने कुरा पो गर्नुभयो, हामी सवै चकित पर्यौं,’ बार्तामा सहभागी ती नेताले जनताटाइम्ससँग भने ।

माधवसँगको छलफलमा रहनुभएका एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पनि बरिष्ठ नेता नेपाल अध्यक्षसँग कुराकानी गर्न र भेटनसमेत इच्छुक नदेखिएको खुलासा गर्नुभयो । उहाँका अनुसार नेता नेपालले पार्टी अध्यक्ष ओलीसँग भेट्न अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको खुलासा पौडेलले गर्नुभयो ।

‘माधव कमरेड भेटन मसहित सुवासजी र शंकरजी गएका थियौं । उहाँसँग एकछिन कुराकानी भयो । पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन । तपाईंहरू एक–आपसमा बस्नुहोस भन्यौं,’ भेटबारे जानकारी दिँदै पौडेलले सञ्चारकर्मीसँग भन्नुभयो, ‘हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाउँ । पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस हामी त्यो चाहन्छौँ । भनेर हामीले प्रस्ताव राख्यौँ । खासगरी प्रधानमन्त्रीसँग भेट्नका लागि उहाँले अरुची प्रकट गर्नुभयो । त्यसपछि ठीकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौँ ।’

एमाले अध्यक्ष ओलीले सर्वाेच्च अदालतबाट फैसला आउँदासम्म कांग्रेस सभापति देउवाको पक्षमा हस्ताक्षर राखिरहनेहरु एमाले नहुने घोषणा शनिवारको केन्द्रीय कमिटी बैठकमै गरिसक्नु भएको छ । अदालतको फैसलाअघि माधव देउवालाई बेचेको हस्ताक्षर फिर्ता लिन नसकिने भन्दै चट्टानी अडानमा हुनुहुन्छ । एमालेमा नफर्कने र भारतका लागि कम्फर्टेवल सरकार गठन गर्ने अभियानमा लागेकै कारण नेता नेपाल अध्यक्ष ओलीसँग कुराकानी गर्नसमेत तयार नहुनु भएको उहाँ निकट नेताहरुकै बुझाइ छ । आज कार्यदलका नेतासँग माधवले प्रधानमन्त्रीबिरुद्ध दिनुभएको अभिब्यक्तिले नेपाल कसम खाएरै वा ठूलै लेनदेन गरेरै बिपक्षी गठबन्धनमा आफ्ना समर्थकको हस्ताक्षर बिक्रि गर्नुभएको आशंकालाई थप बल पुगेको छ ।