काठमाडौं, असार २१ । नेपाल सरकारको रिक्त दुई सचिव पदमा ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।
बढुवा समतिका अनुसार प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर र खगेन्द्रप्रसाद नेपालको नाम सिफारिस भएको छ । यस्तै प्राविधिकतर्फ सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनालको नाम सिफारिश भएको हो । प्रशासनतर्फ सिफारिस भएका बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालमा प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । यसैगरी कृष्णहरि पुष्कर कोभिड–संकट व्यवस्थापन केन्द्रको बोर्ड सदस्य एवम् प्रवक्ता हुनुहुन्छ भने नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।
प्राविधिकतर्फ सिफारिस भएका तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पदमा कार्यरत रहनुभएको छ भने सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा हुनुहुनछ ।
अब बस्ने मन्त्रिपरिषद् वैठकले प्रशासनतर्फ ३ जनामध्ये १ जनालाई र प्राविधिकतर्फ पनि ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ । प्रशासनतर्फ बुर्लाकोटी र पुष्करको नाम यसअघि डा. गणेशप्रसाद पाण्डे सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो । नेपालको नाम भने पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएको हो । यस्तै प्राविधिकतर्फ पनि तिवारीको र सिग्देलको नाम यसअघि पनि सिफारिस भएको थियो । खनालको नाम भने पहिलो पटक सिफारिस भएको हो ।













प्रतिक्रिया दिनुहोस्