जनता टाइम्स

२१ असार २०७८, सोमबार १३:३५

निर्वाचन आयोगद्धारा मध्यावधि निर्वाचनको कार्यतालिका तयार


काठमाडौं, असार २१

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । आयोगका एक विशिष्ट कर्मचारीका अनुसार आज दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुने बताइएको छ । जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेसँगै त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ ।

यता निर्वाचन आयोगले भने निर्वाचन कार्यक्रम तय गरेको छ, जसअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्न दिइने बताइएको छ । आयोगको उच्च स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार छ ।

२० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिकामा छ । यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र कात्तिक १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने प्रारम्भिक तयारी रहेको स्रोतले जनाएको छ ।