काठमाडौं, असार २१ । कुटपिट आरोपमा पक्राउ परेकी कथित सामाजिक अभियान्ता टिका संग्रौला उर्फ ज्वाला समूहका थप एक जना फरार आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाका यमबहादुर खड्का रहेका छन् ।
उनलाई हिजो आइतबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीले ज्वाला समूहमाथि रंगभेदी टिप्पणी र सरकारी कागज किर्तेमा समेत अनुसन्धान जारी राखेको छ । सत्तारुढ दल नेकपा एमालेकी महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी खुश्बु घिमिरेमाथि प्रहरी कार्यालयभित्रै निर्घात कुटपिट आरोपमा ज्वाला सहित उनका समूहका सदस्यहरु हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेका थिए । ज्वाला र हिमाल पति पत्नी हुन् ।
उनीहरुलाई असार ६ गते पक्राउ गरिएको थियो भने अन्य दुई जना भने फरार रहेको काठमाडौं प्रहरीले जनाएको छ ।उनीहरुमाथि सुरुमा अभद्र व्यवहारमा प्रहरीले म्याद थप गरी अनुसन्धान गर्दै जाँदा ज्वाला र हिमालको विवाह र जन्मदर्ताको कागजमा किर्ते गरेको पाइएको थियो । त्यसपछि उनीहरुमाथि सरकारी कागज किर्ते गरेको आरोपमा अनुसन्धान सुरु भयो ।
त्यस्तै ज्वाला समूहले महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई रंगभेदी टिप्पणी गरेको एक भिडियो सार्वजनिक भएको थियो । उनीविरुद्ध झाले पनि उजुरी दिएका थिए । हिजो पक्राउ परेका खड्का झालाई रंगभेदी टिप्पणी गरेको आरोप लगाईएको छ । अहिले उनीहरुमाथि चौँथो पटक म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।













प्रतिक्रिया दिनुहोस्