काठमाडौं, असार २२ । काठमाडौं उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय गरेपछि आजदेखि सडकमा गाडीको चाप बढेको छ । गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने नियम लगाइएको छ ।
यस्तै यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । नलगाएमा गाडीभित्र प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ । गाडीलाई समेत नि(सङ्क्रमित गराउनु पर्नेछ। यस्तै सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्सो सिटमा चाररचार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्नु पर्नेछ ।गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ ।
यस्तै अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिइ प्रवेश गर्न पाउने छन् ।सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ । आजदेखि आउँदो ३१ गतेसम्म थपिएको निषेधाज्ञामा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ ।
खुला ठाउँमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिकरुपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिमा समेत रोक लगाइएको छ । आदेश अवधिभर स्थानीय ढुवानीका गाडी बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छ । अन्य व्यवसायको हकमा बेलुकी ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्नेछ ।
त्यसो नगरेमा व्यवसाय सञ्चालनमा रोक लगाउन सकिने गरी प्रशासनले चेतावनी दिएको छ । अत्यावश्यक वस्तुको अनलाइन माग, रेष्टुरेण्ट तथा फाष्टफुड तथा अन्य ‘अडर टेक अवे’ र ‘होम डेलिभरी’ प्रयोजनका लागि काठमाण्डौ उपत्यकाभित्र साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइनेछ । घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्नेछ । अनिवार्य रुपले मास्क र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ । यस्तै पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सर्त पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । त्यसभन्दा बढी भए दुई सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्