जनता टाइम्स

२२ असार २०७८, मंगलवार १३:४३

एमाले कार्यदल बैठक सुरु, यी हुन मुख्य एजण्डा


काठमाडौं, असार २२ । सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको दोस्रो चरणको दोस्रो दिनको बैठक सिंहदरबारमा सुरु भएको छ । केहीबेर अघि कार्यदल बैठक सुरु भएको हो ।

बैठकमा विगतमा कार्यदल तहमा गरिएका छलफल र सहमतिहरुलाई दस्तावेजिकरण गर्ने र सुल्झिन बाँकी रहेका बिषयमा छलफल गर्ने कार्यसूची रहेको छ । कार्यदलमा यसअघि नै प्रस्ताव गरिएको अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त बक्तब्य जारी गर्ने बिषयमा समेत छलफल भइरहेको छ ।

पार्टी एक भएको सन्देश दिन अध्यक्ष ओली सहमत भएपनि बरिष्ठ नेता नेपाल शेरबहादुर देउवालाई बुझाइएको हस्ताक्षरका कारण बक्तब्यप्रति रुची नदेखाउनु भएकोले पहिलो प्रयाश असफल बनेको थयो । यद्यपी कार्यदलले संयुत्तः बक्तब्यको मस्यौदा दुवै नेतालाई पठाइसकेको छ । ‘पार्टीमा सहमतिको सन्देश दिने संयुक्त बक्तब्यबाटै हो हामी यसैको लागि प्रयाशरत छौं,’ कार्यदलका एक सदस्यले जनताटाइम्स डटकमसँग भन्नुभयो ।

कार्यदलका सदस्य भीम आचार्यका अनुसार आज र भोलिसम्ममा विवादका धेरै बिषय समाधान हुने संभावना रहेको छ । ‘आज पनि छलफल जारी छ, सबै बिषय भोलि सम्ममा टुंगो लाग्ने हामीले अपेक्षा गरेका छौं,’ आचार्यले भन्नुभयो । एमाले अध्यक्ष ओलीसँग माधव समुहका कार्यदल संयोजकसमेत रहनुभएका उपाध्यक्ष भीम रावलले लामो बार्ता गरेपछि टुंगिसकेको एकता फेरि सुरु भई कार्यदल ब्यूँताइएको थियो । कार्यदल सदस्यहरुका अनुसार पछिल्लो समय अध्यक्ष ओली भन्दा बरिष्ठ नेता नेपाल एकताप्रति त्यत्ति रुचिकर हुनुभएको छैन । तर उहाँलाई त्यो अवस्थामा पुग्न नदिने अठोटसहित माधव समुहका नेताहरु लागिपरेका छन ।