जनता टाइम्स

२३ असार २०७८, बुधबार १६:४०

कस्मेटिक राजनीति नगर्न भट्टराईको आग्रह, प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक


काठमाडौं, असार २३

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राष्ट्रिय सभामा कस्मेटिक राजनीति नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य भट्टराईले बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नुभयो,‘राष्ट्रिय सभामा कस्मेटिक राजनीति नगरौँ, मेरो यो अनुरोध छ ।’

वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उहाँले सरकारका कामकारबाहीको जानकारी दिनुभयो । उहाँले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गर्नुभयो । उहाँले थप्नुभयो,‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यस्को औचित्य के रहन्छ, प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ ।’

उहाँले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो भनी प्रश्नसमेत गर्नुभयो । त्यस्तै सरकार बनाइदिनुपर्यो भनेर अदालतमा मुद्दा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी ओली राष्ट्रवादी भएको भन्दै पूर्वप्रधानमन्त्रीहरूलाई ओलीलाई राष्ट्रियताविरोधी भनी प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो,‘म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मलभित्रबाट चोरऔँलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।’ उहाँले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गर्नुभयो ।