जनता टाइम्स

२३ असार २०७८, बुधबार १९:४५

बार्तामा बसे केपी–माधव, कार्यदलको सहमतिले यसरी पाउँदैछ मुर्त रुप


काठमाडौं, असार २३ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटबार्ता सुरु भएको छ । काठमाडौंको नक्सालस्थित मेरियट होटलमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच भेटबार्ता अघि बढेको हो ।

आज बसेको बिवाद समाधान कार्यदलमा सहमतिको बिन्दु फेला परेपछि अन्तिम रुप दिनुअघि नेताद्वयबीच बार्ता गराउने निर्णय भएको थियो । ‘कार्यदलको सुझाव दुई नेताबीच एक्लाएक्लै बार्ता गराउने भन्ने थियो, सोहीअनुसार अध्यक्ष र बरिष्ठ नेता बार्तामा बस्नुभएको हो,’ कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट नेतृत्वकर्ता एमाले नेता सुवास नेम्वाङले जनताटाइम्ससँग भन्नुभयो । उहाँले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वान टु वान भेटवार्ता भएको जानकारी दिनुभयो ।

नेताद्वयबीच एक्लाएक्लै बार्तापछि आवश्यक परे कार्यदलका सदस्यहरु पनि सहभागी हुने बताइएको छ । बार्ताका लागि नेता नेपाल सात बजे होटल मेरियटमा पुग्नुभएको थियो भने त्यसलगत्तै अध्यक्ष ओली पनि मेरियटमा पुग्नुभएको थियो । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

आज बसेको कार्यदलको बैठकले पार्टी विवाद मिलाउँदै सहमतिको अन्तिम खाका तयार पार्ने निर्णयसहित उपाध्यक्ष भीम रावल र उपमहासचिव बिष्णु पौडेललाई मस्यौदा बनाउने जिम्मा दिएको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए । खासगरी संसद विघटन र सर्वोच्चमा पुगेको एमाले सांसदको हस्ताक्षरबारे मौन बसेर विवाद मिलाउनेमा नेताहरु पुगेका छन् । कार्यदलमा भएको सहमतिलाई ओली र नेपालले थप समृद्ध बनाएर एकताको अन्तिम घोषणा गर्ने कार्यदल सदस्यहरुको भनाई छ ।