जनता टाइम्स

२५ असार २०७८, शुक्रबार १६:०६

दलितमाथि श्रृंखलाबद्ध आक्रमण, रुकुम हत्याकाण्ड व्यहोर्न तयार जोडी २१ दिनदेखि जंगलमा, सहयोग गरिदिन याचना


काठमाडौं, असार २५

कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेको जोडी घर पुग्ने बित्तिकै युवतीका आफन्तको आक्रमणमा परेको छ । अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका–७ का प्रकाश विश्वकर्मा र मालती रावल सोही आश्वासनपछि २१ दिन जंगलको बसाई टुंग्याएर घर पुगेपछि आक्रमणमा परेको हो ।

आज बिहान युवतीका आफन्तले सहमतिमै छलफल गर्ने र एकपटक सोधपुछ गर्ने भन्दै बोलाएपछि आक्रमण भएको हो । घर पुगेको जोडी केही समयमै युवतीका आफन्तको आक्रमणमा परेको बताइएको छ । दलितलाई छोरी दिन नसकिने भन्दै युवकलाई कुटपिट गरेर युवतीका आफन्तले जबर्जस्ती मालतीलाई लिएर गएका छ्न् ।

यसअघि देशकै राजधानी काठमाडौंमा जातकै कारण कोठा नपाएर पीडित सञ्चारकर्मी रुपा सुनारको घटना नसेलाउँदै हिजो मात्रै अर्को जातीय विभेदको घटना सार्वजनिक भयो । जुम्लाको सिंजा गाउँपालिका–६ का वडा अध्यक्ष कालीबहादुर बुढा र उनका छोराले स्थानीय बिवेन्द्र नेपालीमाथि जातीय गालीगलौज र कुटपिट गरेको खबर सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

कैलालीमा अन्तरजातीय विवाह गरेको एक जोडी आक्रमणमा परेसँगै आजै फेरि एउटा अर्को जातीय विभेदको घटना सार्वजनिक भएको हो । केटीपक्षका आफन्तले विश्वकर्माविरुद्ध जवरजस्ती विवाह गरेको मुद्धा हाल्ने धम्की र रुकुम हत्याकण्डामा नवराजलाई मारेजसरी उनलाई पनि मारिदिने धम्की दिएपछि अहिले यो जोडी २१ दिनदेखि जंगलमा लुकेर बसेको थियो । उक्त जोडीले जंगलमा एउटा भिडियो समेत बनाएका थिए ।

जसमा उनीहरुले आफूहरुको ज्यान जोखिममा भएको बताउँदै आफूहरुलाई सबैले सहयोग गरिदिन याचना गरेको देखिन्छ । करिब डेढ मिनेटको उक्त भिडियो दलित अभियन्ता जेबी विश्वकर्माले नेपाल प्रहरीलाई ट्याग गर्दै आफ्नो ट्वीटरमा शेयर गर्नुभएको छ ।

‘हाम्रो घरपरिवारले नमानेका कारण हामीहरु अहिले जंगलमा छौँ,’ विश्वकर्माले यति भनेर आफूहरु बसिरहेको जंगल देखाउनुभएको छ । पृष्ठभुमीमा चराचुरुङ्गीको आवाज पनि प्रष्टै सुनिन्छ । ‘अहिले हामीलाई तपाईंहरुको एकदमै साथ र सहयोग चाहिरहेको छ। यो भिडियो हामीले त्यसैले बनाएका हौँ।’ युवकले भिडियोमार्फत कुरा राख्नुभएको छ ।

‘घरको मान्छेले जवरजस्ती विवाह भनेर मुद्धा हालिरहेका छन्, हामीलाई के–के भनेर धम्क्याइरहेका छन् । हामीहरु जवरजस्ती विहे गरेर आएका होइनौँ, आफ्नै मनले आएका हौँ,’ युवकपछि युवतीले भन्नुभएको छ, ‘मेरो पेटमा बच्चा छ । हामीहरु एकअर्काबाट टाढा हुन सक्दैनौँ । टाढा हुन चाहेका पनि छैनौँ । प्लिज, हामीलाई सहयोग गरिदिनुहोला ।’

युवकले भिडियोमा विहेलगत्तै युवतीका दाइले रुकुम हत्याकाण्डमा नवराजलाई मारिदिने भन्दै म्यासेज पठाएको बताउनुभएको छ । ‘घरपरिवारदेखि रुकुम काण्ड दोहोरिन सक्छ । दाइले मलाई ‘रुकुम काण्ड याद छ कि नाइँ ?’ भन्नुभएको छ । हामीले उहाँले पठाएको म्यासेजको स्क्रिनसट पनि राखेका छौँ ।’ युवकले त्यसपछि स्क्रिनसट देखाउनुभएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर साउदले युवक आफूहरुको सम्पर्कमा आइसकेको बताउनुभयो । उहाँले यस विषयमा बुझ्ने भन्दै दुबै पक्षलाई बोलाएको बताउनुभयो । उहाँले दुवै पक्षका कुरा सुनेर यस केसलाई अगाडि बढाउँने सुनाउनुभयो ।