जनता टाइम्स

२७ असार २०७८, आईतवार १८:५७

राष्ट्रिय युवा परिषद्को दुई दिने युवा वैज्ञानिक भेला, विज्ञान र प्रविधिलाई उद्यमतासंग जोड्नुपर्ने


काठमाडौं, असार २७

युवालाई अनुसन्धान, उद्यमतासंग जोड्नका लागि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवर्द्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । आजको सत्रमा खोजमुलुक विभिन्न तीन वटा अध्ययन अनुसन्धानमा सहभागीलाई प्रशिक्षित गरिएको छ ।

जनस्वास्थ्य विज्ञ डा. शेरवहादुर पुनले संक्रमण रोग र वैज्ञानिक आधार डा. असिम ढकालले विज्ञान, शिक्षा र अनुसन्धान र नवप्रवर्तन तथा डा. भानुभक्त न्यौपानेले विज्ञान शिक्षामा अवसरका बिषयमा विशिष्ट वैज्ञानिक व्याख्यान गर्नुभएको थियो । कार्यक्रम संयोजन खिम पन्थीले विज्ञान र प्रविधि क्षेत्रको नेपालमा अनुसन्धानको हब बनाउन सकिने धारणा छलफलका क्रममा आएको बताउनुभयो ।

उहाँले विदेशमा रहेका युवा वैज्ञानिकलाई मुलुकमा कसरी भित्र्याउन सकिने भन्नेबारे पनि छलफल भएको थियो । अहिले विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न सके मुलुकमा धेरै युवालाई स्वरोजगार बनाउने सकिने आजको छलफलमा बताइएको छ । प्रशिक्षण अगाडि कार्यक्रमको उद्घाटन गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासंग जोड्नका लागि सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँले सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमुलक बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउनका लागि सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिने समेत जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न तयारी गरिरहेको बताउनुभयो । उहाँले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पु¥याउने भन्दै विज्ञान र प्रविधिलाई समाजसंग जोड्नुपर्ने भनाई राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त वाँस्तोलाले अनुसन्धान र नवप्रवद्धनमा हाम्रँे शिक्षा कमजोर रहेको भन्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्ने बताउनुभयो । उच्च शिक्षामा अनुसन्धान, नवप्रवद्र्धन काम हुने सके युवालाई स्वरोजगारमुखी बनाइने भन्दै सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिलबावु श्रेष्ठले विज्ञान र प्रविधि समाजको समस्या समाधान गर्नतिर जोड्न पर्ने बताउनुभयो । उहाँले विज्ञान र प्रविधि मार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्न सक्ने भनाई राख्नुभयो । विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने भन्दै विज्ञान र प्रविधि क्षेत्रका काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्ने उहाँको भनाई रहेको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विज्ञानबाट सिकेको कुरालाई उद्यमशिलतातर्फ जानुपर्ने बताउनुभयो । उहाँले युवाले आफूसंग भएको सीपलाई उत्पादनशिलतामा जोडन् आवश्यक रहेको बताउनुभयो । सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेको विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकिय अधिकृत डा. बाबुराम ढुंगानाले जानकारी दिनुभयो ।

सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य विषय लगायत चार बिषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरिने छ । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा करिव ४०० युवा वैज्ञानिकको सहभागिता रहेको छ । भोलि विज्ञान तथा प्रविधि नीतिका सम्बन्धमा छलफल हुने छ । यस्तै भोलिनै विज्ञान र प्रविधिलाई कसरी उद्यमशिलतासंग जोड्ने भन्ने बारेमा कार्यक्रममा सहभागिसंग छलफल हुने कार्यक्रम संयोजन पन्थीले बताउनुभयो ।