काठमाडौं, असार २८
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले ‘सङ्घीय नमुना युवा संसद’ कार्यक्रम युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि सञ्चालन गरिएको बताउनुभयो । प्रदेश स्तरमा सैद्धान्तिक ज्ञान र नमूना प्रदेश सभा सञ्चालन गरिसकेका ८० युवाहरु सङ्घीय युवा संसदमा सहभागी रहेका छन । परिषद्को आयोजनामा आजदेखि शुरु भएको ‘सङ्घीय नमुना युवा संसद’ कार्यक्रममा युवालाई संसदीय गतिविधिका बारेमा जानकारी गराइएको छ ।
प्रदेश नमुना युवा संसदबाट छनौट भएका देशभरका १६ देखि २४ बर्ष उमेरसमूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउनका लागि भर्चुअल माध्यमबाट सङ्घीय नमुना युवा संसद कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा उपाध्यक्ष ढुंगेलले नेपाल सरकारले जारी गरेको युथ भिजन अनुसार नै युवालाई नेतृत्व तहमा लैजानका लागि युवा संसद आयोजना गरिएको बताउनुभयो ।
यसअघि तीन पटक सङ्घीय नमूना युवा संसद कार्यक्रम सञ्चालन भइसकेको छ । ‘युवालाई कानून, संविधान, सम्यताको ज्ञान र स्वयसेवकीको भाव, अधिकार कर्तत्व र दायित्व गराउनका सकिएन भने मुलुक समृद्धि तर्फ लैजान सकिदैन’ उहाँले भन्नुभयो, ‘संविधानले सरकार कसरी सञ्चालन गर्दछ भन्ने कुरा सिकाउनका लागि नमूना संसदबाट युवाले सिक्ने छन ।’ उहाँले लोकतन्त्र स्थायी राज्य व्यवस्था भएको र लोकतन्त्र संस्कृतिबारे युवालाई ज्ञान दिई अब्बल, योग्य नागरिक बनाउन संसदीय अभ्यास आवश्यक रहेको बताउनुभयो ।

भर्चुअलमाध्यमबाट भएको नमुना युवा संसदमा आज प्रकाश उपाध्यायले संसदीय प्रक्रिया, संसदमा प्रयोग हुने शब्दावली, लोकतन्त्र, संसद सञ्चालन सम्बन्धि जानकारी युवालाई सूसुचित गरिएको बताउनुभयो । आज रमेश पौडेल र लवप्रसाद गौतमले युवालाई संसदीय गतिविधिबारे जानकारी गराउनु भयो । युवालाई मुलुकको शासकिय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनबारे सुसूचित गराएर संसदीय अभ्यासमा सरकार गठन, विश्वासको मत, व्यवस्थापिका संसद सञ्चालन गर्ने छन् ।
तीन दिनसम्म सञ्चालन हुने नमुना संसदमा सहभागि भएका युवा प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सचेतक, प्रमुख सचेतक संसदीय दलका नेता र सांसद चयन हुने छन् । यसरी चयन गरिएका युवाले भोलिदेखि सङ्घीय व्यवस्थापिका संसद सञ्चालनको अभ्यास गर्नेछन् । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक बर्ष नमुना युवा संसद कार्यक्रम गर्दै आइरहेको छ । संसदमा भोलि प्रधानमन्त्री चयन गरेर संसदीय अभ्यास गरिने परिषद्का श्यामकाजी खत्रीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्