जनता टाइम्स

२९ असार २०७८, मंगलवार १०:४०

माधव नेपालको निवास पुग्यो एमाले कार्यदल


काठमाडौं, असार २९ । नेकपा एमालेको आन्तरिक एकताका लागि गठित वार्ता टोलीका नेताहरु माधव नेपालको निवास पुग्नुभएको छ । कार्यदलमा भएको १० बुँदे सहमति बुझाउन कार्यदलका नेताहरु नेपालको निवास कोटेश्वर पुग्नुभएको हो ।

आज दिउसो बस्ने स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न निवासमै जानुभएको हो । नेता नेपाल आज प्रसन्न रहेको कारण पनि कार्यदलका नेताहरु प्रतिवेदन बुझाउन जानुभएको बताइएको छ । आइतवार राति कार्यदलका सदस्यहरुले हस्ताक्षर गरेको सहमतिप्रति नेता नेपाल असन्तुष्ट हुनुहुन्छ ।

सोमवार सर्वाेच्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएपछि नेता नेपाल अध्यक्ष केपी ओलीलाई सकाइयो भन्दै खुसी साटनु भएको थियो । देउवा प्रधानमन्त्री बन्दा निकै खुसी हुनुभएको कारण कार्यदलले नेता नेपालको मुडसहित प्रतिवेदन बुझाउने साइत जुराएको छ ।

नेता नेपाललाई अध्यक्ष ओलीको तर्फबाट कार्यदल संयोजक रहनुभएका सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा नेता नेपाललाई जानकारी गराउनु भएको छ । यसअघि कार्यदलका नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर अध्यक्ष ओलीलाई सहमतिको मस्यौदा बुझाउनु भएको थियो । एमालेले कार्यदलको सहमति अनुमोदन गर्न आजै अपरान्ह १ बजे एमाले स्थायी कमिटी बैठक बोलाएको छ ।