जनता टाइम्स

३१ असार २०७८, बिहीबार १३:२९

एआइजी सरुवा कार्यान्वयन नगर्ने निर्देशनबाट पछि हटे गृहमन्त्री


काठमाडौं, असार ३१ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) सरुवा कार्यान्वयन नगर्नका लागि आफूले निर्देशन नदिएको प्रष्ठिटकरण दिनुभएको छ । पदबहालीकै दिन एआइजी सरुवा रोक्न निर्देशन दिएको बिषयमा चर्काे आलोचना भएपछि मन्त्री खाँणले त्यस्तो निर्देशन नदिएको प्रष्टिकरण दिनुभएको हो ।

गृहमन्त्री खाणको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले एआइजीको सरुवा रोक्ने गृहकार्य अघि बढाएपछि बहालीकै दिन खाणले मन्त्रिपरिषदले गरेको सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएको पोल खुलेको थियो । सो बिषयमा समाचार सार्वजनिक भएपछि गृहमन्त्री खाँणले प्रहरीभित्र ठाडो हस्तक्षेप सुरु गरेको भन्दै आलोचना र बिरोध भएको थियो । सोही कारण मन्त्री खाणले आफूले त्यस्तो निर्देशन नदिएको प्रष्टिकरणसहित निर्णयबाट पछि हटनु भएको हो ।

‘एआइजीको सरुवाको निर्णय कार्यानवयन रोक्न निर्देशन दिएको छैन, म भर्खरै मन्त्रालयसँग व्रिफिङ लिँदैछु । अहिले त्यस्तो केही भएको छैन,’ गृहमन्त्री खाँणले भन्नुभएको छ । सरुवा भएको ५ दिन नबित्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको निर्णय रोक्नका लागि गृह मन्त्रालयले निर्देशन दिएको तथ्य बुधवार खुलेको थियो । प्रधानमन्त्री देउवासहित गृहमन्त्री खाँणले मंगलवार मन्त्रीको शपथ लिनुभएको थियो ।

केही दिनअघि मात्र बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)बाट सहकुलबहादुर थापालाई दरबन्दी सृजना गरेर एआईजीपीमा बढुवा गरेसँगै मानवश्रोत तथा प्रशासन महाशाखामा पदस्थापन गरेको थियो । उहाँको पदस्थापनसँगै एआईजीपी हरिबहादुर पाललाई कार्य विभागमा सरुवा भएको थियो । यस्तै निरजबहादुर शाहीलाई मानश्रोत तथा प्रशासन विभागबाट अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र कार्य तथा अनुसन्धान विभागबाट विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो ।