जनता टाइम्स

३१ असार २०७८, बिहीबार १७:१३

ओलम्पिक जाने टिमलाई राष्ट्रपतिद्धारा बिदाइ, मार्च पासमा गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्ने


काठमाडौं, असार ३१

जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिदाइ गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जापान जाने नेपाली टोलीलाई राष्ट्रपति भवनमा अपरान्ह बिदाइ गर्नुभएको हो । पुरानो परम्परा अन्तर्गत राष्ट्रपतिले ओलम्पिक टिमलाई बिदाइ गर्नुभएको हो ।

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ सदस्सीय टिमले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटिले ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिम सहभागी हुने बताएको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र ४ प्रशिक्षक सहभागी हुनेछन् । त्यसबाहेक अन्य पदाधिकारी रहेका छन् । टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स), एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् । ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्ने छन् । यस्तै टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।