जनता टाइम्स

३१ असार २०७८, बिहीबार १८:४६

आफ्नै समुहमा झन कमजोर बने माधव, कोही नमानेपछि गठबन्धन बैठकमा पठाए टेलिभिजन सञ्चालक


काठमाडौं, असार ३१ । आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढालेर बिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन नेतृत्वदायी भूमिका खेल्नुभएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालमा चरम सत्ता लिप्सा देखिएको छ ।

कार्यदलमा भएको १० बुँदे सहमतिअनुसार अघि बढन भन्दै आफ्नै समुहका नेताले बैठकमा जान रोकेपछि नेपालले एक टेलिभिजनका सञ्चालकलाई बैठकमा पठाउनु भएको छ । आफ्नो तर्फबाट जाने कोही नभएपछि माधवले जनता टेलिभिजनका अध्यक्ष तथा कलेज सञ्चालक डा. बिजय पौडेललाई गठबन्धन बैठकमा पठाउनु भएको हो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष पौडेल पुस ५, २०७७ यता एमाले होइन, माओवादीमा बिलय भइहाल्नुपर्ने पक्षमा हुनुहुन्छ । सोही कारण नेपालले कोही जान नमानेपछि पौडेलको भर पर्नुपरेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुभएको छ ।