जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार ०७:१२

सेनाले हस्तान्तरण गर्यो कर्णाली करिडोरको सलिसल्ला सडक


हुम्ला, साउन १ । नेपाली सेनाले कर्णाली करिडोरको खुलालु–लैफु–सलिसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । आठ वर्षअघि २०७० सालदेखि काम सुरु गरेको नेपाली सेनाले सो सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । करिडोरअन्तर्गत सेनाको जिम्मेवारीमा रहेको काम सम्पन्न गरी सडक हस्तान्तरण गरिएको होे । कोरोना महामारीका कारण काम सम्पन्न हुन केही ढिलाइ भएको जानकारी दिँदै उहाँले हुम्लाको सदरमुकाम सिमकोट गाडी पुर्याउने लक्ष्य नजिक पुगेको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथि चौरमा आयोजना गरिएको थियो । कर्णाली करिडोरको खुलालु, लैफुहुँदै हुम्लाको सलिसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख विसुनदास लामाले हस्तान्तरणपत्रमा हस्ताक्षर गर्नुभएको थियो । सेनाले सो खण्डको कालीकोटको खुलालु हुँदै हुम्ला जिल्लाको सलिसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडकको निर्माण कार्य पूरा गरेको हो । निर्माण भएको सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर पर्छ ।

खुलालु, लैफु हुँदै सलिसल्ला खण्डको काम २०७० सालदेखि सेनाले सुरु गरेको हो भने हुम्ला खण्डमा २०७३ चैत ९ गते सुरु गरेको थियो । सडक हस्तान्तरण भए पनि केही समय सेनाले सहयोग गर्ने आयोजना प्रमुख लामाले बताउनुभयो । कल्भर्ट निर्माण गर्ने, ग्याबिन लगाउने, केही असजिलो स्थानमा सेनाले काम गर्ने छ । सडक हस्तान्तरणसँगै दक्षिणी हुम्लाका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

हाल हुम्ला खण्डमा पर्ने सडकमा बालुकुनासम्म यातायात सञ्चालन भएकोमा हस्तान्तरणपछि सलिसल्लासम्म हुनेछ । सो खण्डमा सेनाका गाडी भने अहिले पनि सञ्चालन भइरहेका छन् । अब सलिसल्लाबाट बाजुरा, कालीकोट हुँदै सुर्खेतसम्म यातायात सञ्चालन हुनेछ । यसबाट जिल्लाका चारवटा गाउँपालिका ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।