जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १२:२३

पार्टीमा अबको कार्यदिशा संगठन र संघर्ष : अध्यक्ष ओली


काठमाडौं, साउन १

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अबको कार्यदिशा संगठन र संघर्ष भएको बताउनुभएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा शुरू भएको स्थायी कमिटी बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘न्याय पाउने ठाउँबाट अन्याय भयो हामी कत्ति पनि नआत्तिएर जनतामा जान्छौं । पार्टीका नीति र विचार लिएर जान्छौं । अबको प्राथमिकता संगठन र संघर्ष हो ।’

प्रधानमन्त्रीबाट बाहिरिएपछि बालुवाटारबाहिर पहिलो पटक बैठक बसेको हो । बैठकको शुरुवात गर्दै ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताउनुभयो ।

उहाँले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताउनुभयो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा दश बुँदे सम्झौता, अदालतको फैसला र आगामी संघर्षको विषयमा छलफल हुने एजेण्डा रहेको छ ।