जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार २०:११

हेलिकप्टर चढेर मुख्यमन्त्री आए, खोपचाहिं आएन


गोरखा, साउन १ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका १८ देखि ५५ वर्ष उमेरका नागरिकका लागि छुट्टयाइएको तीन हजार डोज भेरोसेल खोप दुई सातादेखि जिल्ला स्वास्थ्य कार्यालयमा थन्किएको छ । १७ असारमा खोप आएपछि अन्यत्र २० गतेबाट अभियान शुरु भयो । तर सडक सञ्जाल नजोडिएको चुमनुव्री गाउँपालिकामा जाने पदमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भएकाले खोप पु¥याउन सकिएन । अब हेलिकप्टरमार्फत खोप ढुवानी गर्नुको विकल्प छैन ।

शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गोरखाका प्रदेशसभा सदस्य समेत रहेका उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ र प्रमुख सचिव डा. दामोदर रेग्मीको टोली हेलिकप्टर लिएर छेकम्पार, ल्हो लगायतका ठाउँ पुगेर फर्कियो । तर भेरोसेल खोप चाहिं पुगेन ।

चुमनुव्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङ कहिले हेलिकप्टर आउँछ र खोप लैजाउँला भनेर सदरमुकाममै बसिरहेका छन् । शुक्रबार पोखराबाट हेलिकप्टरमा आएको मुख्यमन्त्री नेतृत्वको टोलीले सदरमुकाम आएर खोप लगेन । स्वास्थ्य शाखा प्रमुख गुरुङले भन्नुभयो , ‘मुख्यमन्त्री चढेको हेलिले मास्क र सेनिटाइजरहरु लगेको रहेछ ।’ गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि उत्तरी गोरखामा खोप ढुवानीका लागि काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर भनिएको तर मौसमका कारण आउन नसकेको बताउनुभयो ।

‘मौसम खराब भएर हेलि आउन सकेको छैन,’ उहँले भन्नुभयो , ‘मुख्यमन्त्रीहरु उड्नुभएको हेलिमा खोप लगिएको छैन ।’ तर आज विहानमात्र सरकारी मुखपत्र राससले भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री भनेर समाचार दिएको थियो । यसरी देउवा प्रधानमन्त्री हुनेवित्तिकै सरकारी मिडिया समेत आम सर्वसाधारणलाई झुक्याउन लागेको प्रष्ट देखिन्छ ।

No description available.