जनता टाइम्स

३ श्रावण २०७८, आईतवार ०९:३९

प्रतिपक्षी बेञ्चमै बसेर देउवालाई सघाउने माधव समुहको निर्णय


काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेल्नुभएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालसहितका २३ जना सांसद संसदमा प्रतिपक्षी बेञ्चमै बस्ने हुनुभएको छ । आजबाट शुरु हुने संसद अधिवेशनमा नेपाल समुह एमालेकै निर्णयअनुसार प्रतिपक्षी बेञ्चमा बस्ने निर्णयमा पुगेको हो ।

यसअघि सत्तापक्षमा रहेको एमाले आजदेखि प्रमुख प्रतिपक्षमा पुगेको छ । एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ मध्ये एक सांसद एमाले केन्द्रीय सदस्य झपट रावलले आफूहरु प्रतिपक्ष बेञ्चमै बस्ने बताउनु भयो । रावलले एमाले जहाँ रहन्छ आफूहरु त्यहिँ रहने भन्दै केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने बताउनु भयो ।

‘हामी संसदको निरन्तरता चाहन्छौं । संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं तर हाम्रो पार्टी फुटेको छैन । त्यसैले एमालेका १२१ सांसद एकै ठाउँमा बस्छौं, रावलले भन्नुभयो । एमालेको माधव नेपाल समुहले देउवालाई विश्वासको मत दिने भन्दै लबिङमा छ तर बिश्वासको मत दिए एमालेमा रहने अवस्था भने सकिने छ ।