जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १०:०२

कांग्रेसको विषयगत समितिले नै भन्यो : कालोबजारी र भ्रष्टाचार बढ्यो, अनुगमन गर्न आयोग बनाऊँ


काठमाडौं, साउन ३ । कांग्रेसको संसदीय दल विषयगत समितिले दैनिक उपभोग्य बस्तुको खरिदविक्रीमा उपभोक्ताको अधिकार संकुचित गर्ने कार्य भइरहेको भन्दै त्यस्ता वस्तुहरुको विक्री वितरणमा अनुगमन र नियमनका लागि छुट्टै आयोग गठन गर्न माग गरेको छ ।

समितिका संयोजक दिव्यमणिराज भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले दैनिक उपभोग गर्ने साम्रागीहरुका साथै अत्यावश्यक औषधीजन्य सर–साम्रागी, निर्माण तथा निर्माण साम्रागी, म्याद गुर्जेका खाद्यवस्तुहरुको ‘रिलेभलिङ’ गरी विक्रि वितरणको अनुगमन, अनियमितता एवं कालोबजारी र भ्रष्टाचारको छानबिन, नियन्त्रण एवं कारवाहीका लागि आयोग गठन गर्न माग गरेको हो ।

उपभोक्तामाथि अन्याय हुनेक्रम बढिरहेका कारण उपभोक्ता अधिकारको निम्ति छुट्टै आयोगको आवश्यकता रहेको महसुस भएको सांसद भण्डारीले बताउनुभयो । समितिले पुर्ववर्ती सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको भन्दै यसबाट जनतामा परेको मर्काको विषयमा मनन् गरी मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । समितिले सार्वजनिक यातायातको भाडादर घटाउन माग गरेको छ ।