जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १९:३८

तीन सहसचिव सचिवमा बढुवा


काठमाडौं, साउन ४ । सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा. रामप्रसाद घिमिरे सचिवमा बढुवा हुनुभएको हो । बढुवा सिफारिस समितिको केही दिनअघि बसेको बैठकले जेष्ठतातर्फ शर्माको नाम मात्रै सिफारिस गरेको थियो भने कार्यसम्पादनतर्फ घिमिरेसँगै दोस्रो नम्बरमा हरीप्रसाद मैनाली र तेस्रो नम्बरमा डिल्लीराज शर्माको नाम पनि सिफारिस गरेको थियो ।

त्यसैगरी प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । सोमबार दिउँसो नै बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेलसँगै दोस्रो नम्बरमा डा. दिपेन्द्ररमण सिंह र तेस्रो नम्बरमा महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।