जनता टाइम्स

१ असार २०७६, आईतवार ०९:२२

नेपालको कूटनीतिलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्न राजदूतहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नियोगहरूलाई पुरानो मानसिकतालाई त्यागेर नयाँ गतिका साथ काम गर्न निर्देशन दिनु भएको छ । उहाले अझ गतिशील भएर नेपालको कूटनीतिलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

युरोप भ्रमणको अन्तिम दिन शनिबार जेनेभामा युरोपस्थित नेपाली कूटनीतिक नियोग तथा दूतावासका प्रमुखहरूसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले अहिले नेपाल सरकारले लिएको नीति, विदेश सम्बन्ध र कूटनीति सञ्चालनमा हाम्रा नियोग र नियोग प्रमुखले लिनुपर्ने दृष्टिकोणबारे स्पष्ट दिशाबोध हुनेगरी निर्देशन दिनुभएको परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो ।

यस बाहेक प्रधानमन्त्री ओलीले नियोग सञ्चालन, कर्मचारी व्यवस्थापन नियोगको सम्पत्ति खरिद लगायतका विषयमा अझ गतिशील भएर सशक्त र प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिनुभएको थियो । भेलामा सहभागी राजदूत तथा नियोग प्रमुखहरूले आआफ्नो काम र जिम्मेवारी, अहिलेसम्म हासिल भएको उपलब्धी र भावि कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको परराष्ट्रनीति, कूटनीति, यसका प्राथमिकता सरकारका नीति उद्देश्य कार्यक्रम र देशले के कुराको दिशा निर्देश गरेको छ भन्नेबारे जानकारी गराउनुभएको थियो । जेठ २५ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली युरोप भ्रमणका लागि जेनेभा लागि प्रस्थान गर्नुभएको थियो ।